पोखरीया (पर्सा) – राष्ट्रिय परिचयपत्र लिन पोखरीया नगरपालिकामा आएका सर्वसाधारण नागरिकहरुले सेवा पाउन निकै सास्ती भोग्नु परेको गुनासो गरेका छन्। स्थानीयहरुका अनुसार, नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया ‘सोर्स र पहुँच’ भएका व्यक्तिका लागि सहज भए पनि आम नागरिकका लागि भने अत्यन्तै पीडादायी बनेको छ।

“१५ दिनदेखि दैनिक नगरपालिकाको चक्कर काट्दैछु, तर अहिलेसम्म फारमसमेत भर्न पाएको छैन,” पोखरीयाका एक स्थानीयले दुःखेसो पोखे, “न त कुनै ठ्याक्कै मिति भनिन्छ, न प्रक्रिया स्पष्ट हुन्छ, माथि फेरि ‘सिफारिस’वाला मान्छे आए भने उनीहरूलाई पहिले सेवा दिन्छन्।”

स्थानीयवासीहरू भन्छन्— राष्ट्रिय परिचयपत्र वितरणका लागि पालिकाहरु छुट्ट्याइएका भए पनि व्यवहारमा भने नाम मात्रका लागि छुट्याइएको देखिन्छ। प्रक्रिया पारदर्शी र सुगम हुनुपर्नेमा उल्टै नागरिकहरुलाई पटक–पटक चक्कर लगाउन बाध्य पारिएको छ।

“यहाँ सेवा होइन, सोर्सले काम गर्छ। पहुँचवाला जुन दिन पनि परिचयपत्र बनाउन सक्ने अवस्थामा छन्,” अर्का एक सेवाग्राहीले भने।

स्थानीय तहमा सेवा प्रवाह सुधार गर्ने उद्देश्यले ल्याइएको परिचयपत्र वितरण कार्यक्रम आफैं नागरिकका लागि बोझ बनेकोप्रति सेवाग्राहीहरुले चासो व्यक्त गरेका छन्। उनीहरू सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्तो अवस्थाको तत्काल सुधारको माग गरिरहेका छन्।

यस विषयमा पोखरीया नगरपालिकाका जिम्मेवार अधिकारीहरूसँग प्रतिक्रिया लिन प्रयास गर्दा उनीहरू सम्पर्कमा आउन सकेनन्।