पटेर्वा सुगौलि–२ गादीमा शुद्ध खानेपानीको व्यवस्था गर्न कलधारा गाड्ने कार्य सुरु

 

पर्सा, जेठ २० – पटेर्वा सुगौलि गाउँपालिका वडा नम्बर २ अन्तर्गत गादीमा सर्वसाधारणका लागि शुद्ध खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले नयाँ कलधारा गाड्ने कार्य सुरु गरिएको छ।

 

वडाध्यक्ष विजय गैरेले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै स्थानवासीका लागि गुणस्तरीय र पहुँचयोग्य खानेपानीको सुनिश्चितता गर्न वडाले पहल अघि बढाएको बताएका छन्।

 

“स्थानीयबासीलाई शुद्ध र सहज खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो। यस योजनाबाट गादी क्षेत्रका धेरै घरपरिवार लाभान्वित हुनेछन्,” वडाध्यक्ष गैरेले पोस्टमा उल्लेख गरेका छन्।

 

स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै खानेपानीको दीर्घकालीन समाधानको खोजी गरिएको वडाले जनाएको छ। कलधारा निर्माणसँगै पानीको नियमित आपूर्ति, संरक्षण र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ।

 

यस परियोजनाले गाउँमा खानेपानीका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले योजना प्रारम्भ भएकोमा खुशी व्यक्त गर्दै कार्य शीघ्र सम्पन्न होस् भन्ने अपेक्षा राखेका छन्।