वीरगञ्ज, २२ जेठ – जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आजदेखि सात दिने “ट्राफिक सप्ताह २०८२” औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रमको शुभारम्भ जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो, जसमा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभयो। उद्घाटन समारोहमा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रा, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईं लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताहको क्रममा वीरगञ्जका विभिन्न स्थानहरूमा ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, तथा जिम्मेवार सवारी सञ्चालनका विषयमा केन्द्रित जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

कार्यक्रमको उद्देश्य जनस्तरमा ट्राफिक नियमको पालना गर्न अभिप्रेरित गर्दै सडक दुर्घटनामा घटाउ ल्याउनु रहेको छ।

स्थानीय विद्यालय, सामाजिक संघ–संस्था, सवारी चालक संघ तथा नागरिक समाजको सहभागिता रहने कार्यक्रमले शहरबासीलाई सडक सुरक्षाप्रति संवेदनशील बनाउने विश्वास लिइएको छ।