२२  जेठ : सिजन सुरु नहुँदै पकाएको आँप बजारमा खुलेआम बिक्री हुन थालेको छ। सामान्यतया नेपाली आँप असार महिनापछि मात्र प्राकृतिक रूपमा पाक्ने भए पनि अहिले केमिकल (कार्बाइड) प्रयोग गरेर पकाइएका आँपहरू खुद्रा बजारसम्म आइपुगेका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो आँपले पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने मात्र होइन, फोक्सो, मुटु र मिर्गौलाजस्ता संवेदनशील अंगमा समेत दीर्घकालीन असर पार्न सक्छ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने समय अझै नआएको हुँदा बजारमा पाइने अधिकांश आँप कृत्रिम रूपमा पकाइएको हुनसक्छ। यस्तो आँप न स्वादिलो हुन्छ, न पोषणयुक्त।

यसै साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको छ। तर काठमाडौँमा भने परीक्षण र अनुगमन प्रभावकारी नभएको देखिएको छ।

स्वास्थ्य जोखिमबाट बच्न उपभोक्ताहरूलाई सिजन अनुसारको र प्राकृतिक रूपमा पाकेको फलफूल मात्र उपभोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।