बारा २२ जेठ : इलाका प्रहरी कार्यालय, सिमरामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी इन्धन कुपन विवादपछि खोसिएको छ। पाँच महिनाअघि मात्र सिमरामा सरुवा भएकी वाइवालाई हाल प्रहरी प्रधान कार्यालय, काठमाडौंमा छानबिनका लागि बोलाइएको छ।

प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले केही विषयमा छानबिन आवश्यक परेकाले उनलाई तत्काल प्रभावले बोलाइएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले उजुरीको आधारमा काठमाडौं झिकिएको पुष्टि गरे।

वाइवा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँबीच इन्धन कुपनसम्बन्धी विवाद चुलिएपछि उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत लिखित उजुरी दिएपछि छानबिन सुरु भएको हो।

उपमहानगरका अनुसार वाइवाले ४० दिनभित्र तीनपटक सय लिटरका दरले इन्धन लिएको र सो परिमाण नियमितभन्दा बढी रहेको दाबी गरिएको छ। जेठ १८ मा दिएको २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन अस्वीकार गर्दै वाइवाले प्रशासकीय अधिकृतकै अगाडि कुपन च्यातेकाले विवाद चुलिएको थियो।

सक्रिय र अनुशासित प्रहरी अधिकृतको छवि बनाएकी वाइवा केही दिनअघि मात्र स्थानीय महोत्सवमा समय उल्लंघन भएपछि स्टेजमै पुगेर कार्यक्रम रोकेर चर्चा आएकी थिइन्।

हाल वाइवाको स्थानमा डीएसपी वेद जोशी सिमरामा कार्यभार सम्हाल्ने तयारीमा छन्। छानबिनपछि दोषी नठहरिए जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनाएको छ।