२३ जेठ, वीरगञ्ज । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय हुँदा अन्यत्र पनि बदली र वर्षाको स्थिति देखिएको छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसममा विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही ठाउँमा र अन्य पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातसमेत हुनसक्ने मौसम विभागको पूर्वानुमान छ।

रातिको समयमै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहितको वर्षा तथा हिमपात हुने सम्भावना छ।

मौसम विभागले मौसमको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्नसक्ने भएकाले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।