पर्सा २३ जेठ ।। पटेर्वा सुगौली – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४, उत्तर सुगौलीमा नवनिर्मित श्री हनुमान मन्दिरको भव्य उद्घाटन तथा मूर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ।

उक्त धार्मिक तथा सांस्कृतिक समारोह नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री श्री सुरेन्द्र प्रसाद चौधरी ज्युको प्रमुख आतिथ्यतामा सोमबार विधिवत रूपमा सम्पन्न गरिएको हो। उहाँले मन्दिर उद्घाटन गर्नुका साथै श्री हनुमान जीको मूर्तिको अनावरण समेत गर्नुभएको थियो।

समारोहमा वैदिक विधिअनुसार पूजापाठ, हवन तथा संकीर्तन कार्यक्रम आयोजना गरिएको थियो। भक्तजनहरूले “जय श्रीराम” र “जय बजरंगबली” का जयघोष गर्दै भक्ति भावपूर्वक सहभागिता जनाएका थिए।

मूर्तिको प्राण प्रतिष्ठा पछिको दिन, बिहीवार, विशेष हनुमान आराधना गरिएको थियो। बुधबारको दिन कलश यात्रासमेत भव्य रूपमा निकालिएको थियो।

मन्दिर निर्माणमा सक्रिय योगदान पुर्‍याउने पटेर्वा गाउँका समाजसेवी श्री चन्द्रकिशोर महतो मूर्ति दाता रहेको जनाइएको छ।

सामुदायिक सहयोग उल्लेखनीय रहेको कार्यक्रममा पटेर्वा गाउँ समाजबाट रु ८,७२५/- र दक्षिण सुगौलीका शिवेन्द्र राउतबाट रु ५,००५/- सहयोग प्राप्त भएको थियो।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडा नं. ४ का वडाध्यक्ष बासु महतो, समाजसेवी हृदयनारायण महतो, महेन्द्र चौधरी, राजेश्वर महतो, मुकेश गौरो, परमेश्वर गौरो, स्थानीय विद्यालयका प्रधानाध्यापक, समाजसेवी, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय समाजले मन्दिरलाई धार्मिक आस्था र सामाजिक एकताको केन्द्रको रूपमा विकसित गर्ने प्रतिबद्धता जनाएको छ।