काठमाडौँ । खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भरपर्नुपर्ने बाध्यता अन्त्यको दिशामा सरकार दृढ रहेको बताउनु भएको छ ।

खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगद्वारा आज आयोजित उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको स्थायी व्यवस्थापनमार्फत अब उपत्यकावासीलाई वर्षैभरि नियमित पानी आपूर्ति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन । ट्याङ्करको भरमा बस्नुपर्ने बाध्यता अब हट्नेछ । सरकार पूर्वाधार निर्माणमा तीव्र गतिमा अघि बढेको छ ।”

मन्त्री यादवले सबै नागरिकको मौलिक अधिकारस्वरूप सुरक्षित खानेपानी सुनिश्चित गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै, आगामी दिनमा देशका अन्य शहरी क्षेत्रहरूमा समेत भरपर्दो र पर्याप्त पानी आपूर्ति विस्तार गरिने जानकारी दिनुभयो ।

उहाँले थप जानकारी दिंदै भन्नुभयो, “वर्खामा बाढीको जोखिमका कारण मेलम्चीको मुहानको ढोका बन्द गर्नुपर्ने भए तापनि सुरुङ प्रणालीमार्फत पानी ल्याउने वैकल्पिक उपाय अवलम्बन गरिएको छ । यस वर्ष वर्षात्को समयमा पनि काठमाडौँमा मेलम्चीको पानी नियमित आपूर्ति हुनेछ ।”

खानेपानी तथा सरसफाइ क्षेत्रको सेवा सुधार तथा पारदर्शिताका लागि सरकारले २०८१ सालमा खानेपानी तथा सरसफाइ नियमावली जारी गरिसकेको र महसुल निर्धारण आयोगले निर्देशनसमेत सार्वजनिक गरिसकेको उल्लेख गर्दै मन्त्री यादवले उपभोक्ता समितिहरूलाई सेवा र महसुल निर्धारणको प्रस्ताव खुला र पारदर्शी रूपमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सेवा टिकाउ बनाउन महसुल यथार्थपरक, सन्तुलित र दिगो हुनुपर्छ । कानुनी स्पष्टता, सेवा गुणस्तर र उपभोक्ता अधिकारको रक्षाका लागि यो अत्यावश्यक छ ।”

मन्त्री यादवले यस्ता कार्यक्रम उपत्यकामा मात्र सिमित नराखी देशभरका स्थानीय तहहरूसँग सहकार्य गरी निरन्तर सञ्चालन गर्न आयोगलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी हरेक नागरिकको जीवनसँग जोडिएको मौलिक अधिकार भएकाले यसमा सहकार्य, सहभागिता र उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले उपभोक्ता समितिले व्यवसायिक योजना तयार गरी गैरराजश्व पानीको मात्रा घटाउँदै गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष रुद्रप्रसाद गौतम, उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. ढुण्डराज भट्टराई, महाप्रवन्धक अर्जुनबाबु ढकाल, उपत्यकाभित्रका उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।