बीरगंज २७ जेठ : पर्सा जिल्लामा बाढी तथा डुबानजन्य सम्भावित विपद् व्यवस्थापनका लागि आयोजित जल उद्धार अभ्यास ‘अभ्यास मनसुन–५’ को प्रदर्शनी सम्पन्न भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा तथा सुरक्षा निकाय र सरोकारवाला निकायहरूको सहकार्यमा चार दिनसम्म सञ्चालन भएको उक्त अभ्यासको अन्तिम दिन आइतबार वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरीमा जल उद्धारको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

सुरक्षा निकाय र समुदायबीच समन्वय

‘अभ्यास मनसुन–५’ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस, स्काउट लगायतका निकायहरूले सहभागिता जनाएका थिए। अभ्यासको उद्देश्य मनसुनको समयमा देखिन सक्ने बाढी तथा डुबानका घटनामा प्रभावकारी उद्धार र राहत व्यवस्थापन गर्नु र सम्बन्धित निकायहरूबीच समन्वयलाई सुदृढ बनाउनु हो।

व्यापक जनसहभागिता

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, शिक्षक, विद्यार्थी लगायत करिब ६०० जनाले सहभागिता जनाएका थिए। आयोजकहरूका अनुसार यस्तो अभ्यासले आपत्कालीन अवस्था सामना गर्ने सामर्थ्य विकास गर्नुका साथै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।