२७, जेठ, वीरगन्ज — पर्साको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारका लागि स्वास्थ्य उपचार सेवामा छुट दिने उद्देश्यले एक महत्वपूर्ण पाँच वर्षीय सम्झौता सम्पन्न भएको छ।

मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार ओपिडी टिकटमा ५०%, जेनरल बेड चार्ज, आइसियु, एनआइसियु, पीआइसियु बेड चार्ज, लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक सेवामा २५%, भिडियो एक्सरे, एक्सरे, ईसीजी, इन्डोस्कोपीमा ७% तथा सिटी स्क्यान र एमआरआई सेवामा अधिकतम २५% छुट प्रदान गरिने छ। फार्मेसी ओपिडी तथा अन्य औषधि सेवामा समेत छुट सुविधा लागू गरिने छ।

प्रहरी उपरीक्षक मिश्रले यो सम्झौता वर्तमान र भूतपूर्व प्रहरी तथा तिनका परिवारका लागि निकै राहतदायी हुने उल्लेख गर्दै अस्पताल व्यवस्थापनलाई धन्यवाद दिए।

सेवाको लाभ लिन सम्बन्धित प्रहरी कार्यालयको सिफारिस अनिवार्य हुनेछ भने बिरामीको अवस्थाअनुसार छुट समुह “क” र “ख” मा वर्गीकरण गरिने व्यवस्था छ।

सम्झौताअनुसार सेवा पाँच वर्षसम्म लागू हुनेछ र आवश्यकतानुसार आपसी सहमतिमा परिमार्जन गर्न सकिने अस्पतालले जनाएको छ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. आबिद हुसेन अन्सारी, प्रहरी नायव उपरीक्षक सुबास भट्ट लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।