पर्सा, २९ जेठः पर्सा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल भाथा धाममा रहेको दुग्धेश्वर महादेव मन्दिरको स्तरोन्नत्तीका लागि मधेस प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ रकम काम नै सुरु नहुँदा फ्रिज हुने अवस्थामा पुगेको छ।

मधेस प्रदेशको पर्यटन मन्त्रालयले पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने भाथा धामस्थित दुग्धेश्वर महादेव मन्दिरको स्तरोन्नत्तीका लागि चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम मन्त्रालयले वीरगन्जस्थित पर्यटन विकास कार्यालयमा निकासा गरिसकेको भए पनि चालु आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी रहँदा समेत मन्दिर स्तरोन्नत्तीको काम सुरु हुन सकेको छैन।

अहिलेसम्म काम सुरु नहुँदा अब बाँकी रहेको एक महिनामा काम सक्ने सम्भावना समेत कम हुँदै गएपछि प्रदेश सरकारले उपलब्ध गराएको उक्त ५० लाख रुपैयाँको रकम फ्रिज हुन सक्ने जोखिम बढेको छ।

पर्यटन मन्त्रालयले दुग्धेश्वर महादेव मन्दिरमा भ¥याङ (सिँढी), रेलिङ, प्रतिक्षालय लगायतका संरचना निर्माण तथा स्तरोन्नत्तीका लागि उक्त रकम पर्यटन विकास कार्यालय वीरगन्जमा पठाएको हो। तर बजेट आएको ६ महिना बितिसकेको र अब आर्थिक वर्ष सकिन १ महिना मात्र बाँकी रहँदा पनि काम सुरु नभएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले बताएका छन्। त्यसैले उनले भने, ‘अहिलेसम्म काम सुरु नभएकाले बजेट फ्रिज हुने अवस्थामा पुगेको छ।’

गाउँपालिका अध्यक्ष चौधरीले पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमुख बबिता जयसवालको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन्। उनले भने, ‘मन्त्रालयबाट बजेट निकासा भएको ६ महिना भइसकेको छ, तर कार्यालय प्रमुखले विभिन्न बहानामा काम सुरु नगरेकी छन्।’

त्यसैगरी, प्रदेश सरकारका एक मन्त्रीको अनुचित दबाबका कारण कार्यालय प्रमुखले भाथा धाम स्तरोन्नत्तीको काममा चासो नदेखाएको समेत अध्यक्ष चौधरीले आरोप लगाए।

यस विषयमा पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमुख बबिता जयसवालले भने, भाथाधाम र मन्दिर राष्ट्रिय निकुञ्ज भित्र रहेको हुँदा निकुञ्ज प्रशासनले अनुमति नदिएको कारणले काम सुरु हुन नसकेको बताइन्। उनले मधेसखबरसँग भनिन्, ‘हामीले पहिला निकुञ्ज प्रशासनसँग अनुमति माग्यौं, तर उनले वन्यजन्तु आरक्षण विभागबाट अनुमति लिन भन्यो।’

उनले थपिन्, ‘तीन चार दिन अघि मात्रै वन्यजन्तु आरक्षण विभागलाई अनुमति माग्दै पत्राचार गरेका छौं, तर अहिलेसम्म जवाफ आएको छैन। विभागबाट अनुमति पाएपछि मात्रै काम अगाडि बढाउन सकिन्छ।’

तर गाउँपालिका अध्यक्ष चौधरीले कार्यालय प्रमुख जयसवालले अनुमति लिनुपर्ने कुरालाई मात्र बहाना बनाएको बताए। उनले भने, ‘सुरुमा कार्यालय प्रमुखले मन्त्री र आफ्नो निकटका ठेकेदारलाई काम दिन खोजेकी थिइन्, जसको विरोध मेला व्यवस्थापन समिति र हामीले गरेका थियौं। त्यसपछि उनी अनुमति नदिएको बहानामा काम रोकिरहेकी छन्।’ सूचना स्रोत:- मधेस खबरबाट