पंचगावा ।। नेकपा एमाले पकहाॅंमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा नेता अकलेश कुमार साहले आज वडा नं. ३ मैनपुरमा सडक ढलान तथा नाला निर्माणको शिलान्यास गरेका छन्। करिब ४५ लाख रुपैयाँ लागतको यो योजना भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरिएको हो।

शिलान्यास कार्यक्रम वडा नं. ३ का अध्यक्ष संजय चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, नेकपा एमालेका स्थानीय नेता, विद्यार्थी नेता तथा उपभोक्ता समितिका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज समेत रहेका साहले पछिल्लो समय गाउँपालिकामा सक्रिय विकास योजनाहरू अघि बढाउँदै आएका छन्। सडक तथा नाला निर्माण, स्वास्थ्य चौकीको स्तरोन्नति, भवन निर्माण लगायतका कामहरूमा उनको अगुवाइले पकहाॅंमैनपुरमा नयाँ गति दिएको स्थानीयको बुझाइ छ।

साहको पहलमा वडा नं. १ धोरेमा ४५ लाखको लागतमा सडक ढलान, वडा नं. ३ मैनपुरमा ४५ लाखको लागतमा सडक तथा नाला निर्माण, र खेस्राहा स्वास्थ्य चौकीमा ३५ लाखको लागतमा स्तरोन्नतिको कार्य सुरु हुँदैछ। यी परियोजनाहरू अहिले गाउँपालिकामा सर्वाधिक लोकप्रिय विकास योजनाको रूपमा हेरिएका छन्।

“पद नभए पनि म गाउँको समृद्धिका लागि समर्पित छु,” युवा नेता साहले कार्यक्रममा बोल्दै भने, “जनताको विश्वासलाई कायम राख्दै आगामी निर्वाचनमा भाग लिने छु र पकहाॅंमैनपुरलाई नमूना गाउँपालिका बनाउने मेरो प्रतिबद्धता छ।”

स्थानीयवासीले समेत साहको कामको प्रशंसा गर्दै उनलाई आगामी गाउँपालिका प्रमुखको प्रत्याशीका रूपमा लिन थालेका छन्। विकासप्रति उनको समर्पण र नेतृत्व क्षमताका कारण उनी स्थानीय जनताबीच लोकप्रिय बन्दै गएका छन्।

शिलान्यास कार्यक्रममा समाजसेवी लक्ष्मण कुर्मी, प्रदीप पटे, उपभोक्ता समिति अध्यक्ष भगवान कुर्मी, सचिव चन्दन पटेल, एमाले नेता रामशेवक पडित, बृजकिशोर यादव, सुडु चौरसिया, विद्यार्थी नेता आकाश पटेल लगायतको उपस्थिति थियो।