३१ जेठ पर्सा, : पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ५ स्थित निचुटामा रहेको सार्वजनिक पोखरीको सौन्दर्यकरण कार्यको शनिबार एक कार्यक्रमकाबीच सिलान्यास गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले शिलान्यास गर्दै पोखरीको संरक्षण र विकासले स्थानीय स्तरमा पर्यटन, वातावरणीय सन्तुलन तथा सामाजिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपाध्यक्ष महतोले भन्नुभयो, “स्थानीय सम्पदा संरक्षण र उपयोगले मात्र समृद्ध गाउँको परिकल्पना साकार हुन्छ। पोखरीको सौन्दर्यकरणले निचुटालाई थप आकर्षक बनाउनेछ।”

गाउँपालिका उपप्रमुख ममता महतोले सो पोखरीको सौन्दर्यकारणका लागि सिलान्यास गरेकी हुन् । यो काम पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको हो । यो कामले यहाँका स्थानियहरुको लागि एउटा स्मरणीय ठाउँ हुने र गाउँपालिकाको लागि पनि खुशीको क्षण रहेको उपप्रमुख महतोले बताइन ।

सार्वजनिक उपयोगका लागि रहेको उक्त पोखरीलाई आकर्षक बनाउँदै आसपासको क्षेत्र सफा, हरित र व्यवस्थित बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो। सौन्दर्यकरण अन्तर्गत पोखरीको गहिराइ मापन, वरिपरिको संरक्षण पर्खाल, फुलबारी, बत्तिको व्यवस्था, र विश्राम स्थल निर्माणजस्ता कार्य गरिने जनाइएको छ।

कार्यक्रममा वडा अध्यक्ष, स्थानीय समाजसेवी, युवाहरु तथा महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्थानीयवासीहरूले यस योजनाको स्वागत गर्दै समयमै गुणस्तरीय कार्य सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।