पर्सा, ३१ जेठ : – पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाइन क्षेत्रमा वेवारिसे मानव शरीरका अङ्गहरू फेला परेका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार मिति २०८२ साल जेठ ३० गते साँझ करिब ५ बजे निकुञ्जमा जंगली जनावरको लागि बनाइएको पानी खाल्टोमा नाम, थर, वतन नखुलेको व्यक्तिको खुट्टा एक थान र दुईवटा हात फेला परेको हो। सोही खाल्टोबाट करिब ३०० मिटर पर टाउकोको अस्थिपञ्जर पनि फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्नुका साथै प्रारम्भिक अनुसन्धान गरिसकेको छ। फेला परेका शरीरका अङ्गहरू नारायणी अस्पताल, बीरगंजको शवगृहमा राखिएको छ। हालसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा निम्न चिजबस्तुहरू फेला परेका छन्:

  • निलो रंगको पुरुषले लगाउने पाइन्ट
  • सेतो रंगको फुल बाहुला सर्ट
  • कालो रंगको प्लास्टिक चप्पल

यस सन्दर्भमा मृतकलाई चिनेका वा कुनै जानकारी भएका व्यक्ति/संस्था/नातेदारहरूलाई छिटोभन्दा छिटो इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, पर्सामा सम्पर्क राख्न अनुरोध गरिएको छ।