१ असार, काठमाडौं — भारतको उत्तराखण्डस्थित केदारनाथ धामतर्फ जाँदै गरेको हेलिकप्टर आज बिहान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको दुर्घटनामा एक बालकसहित सबै सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा परेको हेलिकप्टर आर्यन कम्पनीको भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। देहरादूनबाट केदारनाथतर्फ उडेको सो हेलिकप्टरमा खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (पूर्व ट्विटर) मा दुःख व्यक्त गर्दै लेखेका छन्, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको अत्यन्त दुःखद खबर प्राप्त भएको छ।” अहिले घटनास्थलमा एसडीआरएफ टोली र स्थानीय प्रशासन उद्धार कार्यमा खटिएका छन्।

घटनाको प्रत्यक्षदर्शी नेपाली मूलकी महिलाहरूले प्रहरीलाई खबर गरेका थिए। उनीहरू दुर्घटनाको समयमा गौरीकुण्ड क्षेत्रमाथि घाँस काटिरहेका थिए। हेलिकप्टर खसेको देखेपछि उनीहरूले तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए।