१ असार पर्सा, : पटेर्वा सुगौली गाउँपालिकामा निर्माणाधीन धर्मशालालाई लिएर अनियमितताको आरोप लागेपछि गाउँपालिका भित्रै राजनीतिक वातावरण तातिएको छ। धर्मशालाको निर्माणमा “दुई नम्बरी” काम भएको आरोप स्थानीय स्तरमै उठिरहेका बेला गाउँपालिकाका उपाध्यक्ष ममता महतो र स्थानीय युवा ताराचन सहनीबीच सामाजिक सञ्जालमा खुला आरोप-प्रत्यारोप सुरु भएको छ।

उपाध्यक्ष ममता महतोको प्रतिक्रिया: आलोचना नै प्रेरणा बन्यो

धर्मशालामा अनियमितताको आरोप सार्वजनिक भएपछि उपाध्यक्ष ममता महतोले सामाजिक सञ्जालमार्फत युवा ताराचन सहनीलाई लक्षित गर्दै भनिन्,

> “माइन्डसेटको कुरा हो। यदि कुनै मान्छेले कुनै कुरा नकारात्मक हेर्छ भने उसले जहिले पनि नकारात्मक नै देख्छ। आठ वर्षको राजनीति यात्रामा उहाँले मेरो कुनै पनि कार्यको सकारात्मक टिप्पणी गर्नुभएको छैन। उहाँका आलोचनाले मलाई अझ फरक र राम्रो काम गर्न प्रेरित गर्छ।”

महतोले सहनीलाई आफ्ना प्रेरणाको स्रोत बताउँदै आलोचना नै आफूलाई ऊर्जाको रूपमा काम गर्ने बताइन्। साथै, उनले सहनीप्रति व्यंग्य गर्दै भनेकी छन् कि उनको कमेन्टले आफूमाथि झनै विश्वास बढेको छ।

ताराचन सहनीको प्रतिउत्तर: “जनताको आँखामा कालोपट्टी बाँधिएको छ”

उपाध्यक्ष महतोको प्रतिक्रिया पछि ताराचन सहनीले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै गाउँपालिकामा जनताका समस्या बेवास्ता गरिएको आरोप लगाए। उनले लेखेका छन्,

> “जनताले आँखामा कालोपट्टी बाँधेका छन्। तपाई दूध भनेर दिएको कटोरामा झिँगा र ओटनी परेको छ। केही दिनमै त्यो दूध होइन, खीर भनिनेछ, तर त्यो पनि जनताले खान सक्दैनन्।”

सहनीले ममता महतोमाथि जनताका पीडालाई बेवास्ता गर्दै व्यक्तिगत सुविधा र देखावटी कार्यक्रममा मात्र ध्यान दिएको आरोप लगाए। उनले धर्मशालाको काममा कमिसन नपाएका कारण कुनै व्यक्तिले विरोध गरेको भन्ने आरोपको खण्डन गर्दै भने,

“म उपमेयरलाई सुझाव दिने झोला बोक्ने होइन। म जनताको पक्षमा बोल्ने मान्छे हुँ।”

राजनीतिक चुनौतीको खुला घोषणा

सहनीले निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उपाध्यक्ष ममता महतोविरुद्ध प्रतिस्पर्धा गर्ने खुला चुनौती गरेका छन् ।

“तपाई जुन पार्टीबाट उठ्नुहुन्छ, म स्वतन्त्रबाट उठ्छु। यदि हारे भने गाउँपालिका सधैंका लागि छोड्छु। जनताको हक अधिकारकाको लागि ममता जीसँग लड्न तयार छु।”

बढ्दो विवाद र जनतामा प्रभाव

धर्मशालाको निर्माण कार्यमा देखिएको पारदर्शिताको प्रश्नसँगै सुरु भएको यो आरोप-प्रत्यारोपले गाउँपालिकाको राजनीतिक माहोललाई झनै अस्थिर बनाएको छ। दुई नेताबीचको सामाजिक सञ्जालको बहसले आम जनताको ध्यान तानिएको छ भने विकास योजनामा पारदर्शिता, जवाफदेहिता र जनताको सहभागिताको विषयमा बहस चुलिएको छ।

अब गाउँपालिकाले यस विवादलाई कसरी व्यवस्थापन गर्छ र धर्मशालाको निर्माणबारे वास्तविक तथ्य के निस्कन्छ भन्ने प्रतीक्षामा स्थानीयवासी छन्।