वीरगञ्ज, १ असार – पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहिन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले यही असार १६ गतेदेखि जग्गाको निस्सा पाउने भएका छन्।

गाउँपालिका कार्यालयमा आइतबार भूमि समस्या समाधान आयोग पर्सा र गाउँपालिकाका जनप्रतिनिधिहरूबीच भएको छलफलपछि निस्सा वितरणको निर्णय गरिएको हो।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा बसेको बैठकले आयोगसँग सहकार्य गर्दै भूमिहिनहरूको व्यवस्थापन छिटो सम्पन्न गर्ने निर्णय गरेको हो। अध्यक्ष यादवले गाउँपालिकाले आयोगको काममा पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरे। “यो केवल जग्गाको मात्र विषय होइन, सामाजिक न्यायको ऐतिहासिक कार्य हो,” अध्यक्ष यादवले भने।

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार हालसम्म सखुवाप्रसौनी गाउँपालिकामा ६५५ जनाले निवेदन दर्ता गराएका छन्। तीमध्ये १४० जना भूमिहिन दलित,३४१ जना सुकुमबासी र १७४ जना अव्यवस्थित बसोबासी छन्। अध्यक्ष अहमदले निस्सा वितरणपछि जग्गा वितरण कार्य तीव्र गतिमा अघि बढाइने बताए।

बैठकमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा आयोगका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।