वीरगञ्ज, जेठ ३२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी कोष अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम अपचलन गरेको अभियोगमा उनीहरूमाथि आइतबार मुद्दा दायर गरिएको हो। मुद्दामा लामिछानेलगायत २९ जनालाई प्रतिवादी बनाइएको छ।

सरकारी वकिल कार्यालय पर्साले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो। प्रहरी अनुसन्धान एक महिनाअघि नै सम्पन्न भई सो प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको थियो।

रास्वपा सभापति लामिछाने यसअघि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यद्यपि, सहकारी अपचलन काण्डमा उनको संलग्नताको विषयमा लामो समयदेखि सार्वजनिक रूपमा बहस चल्दै आएको थियो।