पंचगावाँ ।।  पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज (सोमबार) सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा सृजनशील महिला विकास केन्द्र वीरगन्जको समन्वयमा गुदरबाबा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतोले चालू आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ८७ वटा साना तथा ठूला योजनाहरू सम्पन्न भएको जानकारी दिइन्।

महतोले “कृषि, पर्यटन, हरियो वन! समृद्ध पटेर्वासुगौलीको खुशियाली मन!!“ नारासहित चालू वर्षमा निर्माण भएका नीति तथा कार्यक्रमअनुसारका योजना कार्यान्वयन भइरहेको बताइन्। उनले सिँचाइका लागि विद्युतीय पोल जडान, कृषि उत्पादन भण्डारणका लागि दुईवटा कोल्ड स्टोर र कृषि बजार व्यवस्थापन लगायतका पञ्चवर्षीय योजनाहरू कार्यान्वयनमा रहेको जानकारी दिइन्।

शिक्षा क्षेत्रमा ‘एक वडा, एक माध्यमिक विद्यालय’को लक्ष्यअनुसार काम भइरहेको छ। सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि ‘खेल्दै सिक्दै’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

भौतिक पूर्वाधारतर्फ वडानम्बर ४ को नयाँ वडा कार्यालय भवन सञ्चालनमा आइसकेको छ भने पालिकाको आफ्नै प्रशासनिक भवन पनि चाँडै सञ्चालनमा आउने उपाध्यक्ष महतोले बताइन्। साथै, नाला, सडक ढलान, पुलपुलेसा, बाउन्ड्री, सिँचाइका मुहान संरक्षण लगायतका पूर्वाधार योजनाहरू सम्पन्न भइसकेको उनले उल्लेख गरिन्।

सर्वसाधारणका प्रश्नको जवाफ दिँदै उपाध्यक्ष महतोले विकास निर्माणका कामहरू नियमानुसार ठेक्का, कोटेशन तथा उपभोक्ता समितिमार्फत भइरहेको बताइन्। तर, उपभोक्ता समिति मार्फत हुने योजनामा ढिलाइ र गुणस्तरको कमी देखिएको स्वीकार गरिन्।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट सीमित भए पनि प्राथमिकताका आधारमा योजना कार्यान्वयन भइरहेको र सेवाप्रवाह सहज भएको जानकारी दिए।

कार्यक्रममा सहभागी सर्वसाधारणले सिँचाइ, सडक, नाला, विद्युतीय पोल र तारको समस्या, थारू समुदायको सक्रियता बढी भए पनि दलित तथा मुस्लिम समुदायको सहभागिता न्यून रहेको, साथै शिवम ह्याचरीका कारण दुर्गन्ध बढेको गुनासो गरेका थिए।

कार्यक्रममा वडाध्यक्ष विजय गैरे, माधव राउत थारू, बासु पञ्जियार, पूर्व गाविस अध्यक्ष परमेश्वर गौरोलगायतको उपस्थिति थियो। सञ्चारकर्मी माधुरी महतोले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने सहजीकरण क्रान्ति साहले गरेका थिए।