पर्सा, असार ३;  जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाको समय परिवर्तन गरेको छ। सेवा लिन आउने नागरिकको चाप बढ्दै गएको भन्दै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनका लागि कार्यालयले अब बिहान ७:०० बजेदेखि सेवा सुरु गर्ने निर्णय गरेको हो।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बुधबार (जेठ ३६) देखि लागू हुने गरी नयाँ सेवा समय बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको जानकारी दिएको छ। यो सेवा सार्वजनिक बिदाबाहेक हरेक दिन सञ्चालन हुनेछ।

नागरिकले राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा सम्बन्धित सेवा अब चाँडो समयमै लिन सक्ने सुविधा हुनेछ। सेवा समय परिवर्तन गर्नुको उद्देश्य सेवाग्राहीलाई भीडभाडबाट बचाउँदै छिटोछरितो सेवा दिनु रहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, पर्साको आधिकारिक वेबसाइट वा सम्पर्क माध्यममार्फत जानकारी लिन सकिनेछ।