पर्सा, असार ३ : – पछिल्लो समय अत्यधिक गर्मीको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि पटेर्वा सुगौली गाउँपालिका, पर्सा अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा भौतिक रूपमा पठनपाठन तीन दिनका लागि बन्द गरिने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताद्वारा जारी सूचनाअनुसार, मिति २०८२/०३/०४ देखि २०८२/०३/०६ गतेसम्म बाल विकासदेखि कक्षा १० सम्मका सबै तहमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन स्थगित रहनेछ। यस अवधिको बिदा वार्षिक बिदाबाट कट्टा गरिने उल्लेख गरिएको छ।

हालको चर्को गर्मीका कारण विद्यालयमै पठनपाठन गराउँदा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेकोले सावधानी अपनाउन यो निर्णय गरिएको हो। यद्यपि, विद्यालयको प्रशासनिक कार्य तथा सेवा भने नियमित रूपमा सञ्चालनमा रहने जनाइएको छ।

गाउँपालिकाले सबै विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्दै, गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।