पर्सा, असार ३ – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित भलुवाई खोला आसपास गाँजा तस्करी गर्ने प्रयासमा संलग्न एक व्यक्ति प्रहरीले देख्ने बित्तिकै बोकेको गाँजाका पोका फालेर फरार भएका छन्। घटनास्थलबाट प्रहरीले १७ किलो २ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

प्राप्त जानकारी अनुसार, असार ३ गते दिउँसो करिब २:३० बजे रंगपुरटाँडी प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले भालुवाई खोलातर्फ जाँदै गरेको एक व्यक्तिलाई शंकास्पद रूपमा टाउकोमा भारी बोकिरहेको देखेपछि निगरानी बढाएको थियो। प्रहरी नजिकिँदै जाँदा उक्त व्यक्ति अचानक बोकेको दुई पोका गाँजा फालेर भागेको थियो।

प्रहरी सहायक निरीक्षक रामपुकार चौधरीको नेतृत्वमा रहेको गस्ती टोलीले ती पोका तत्कालै नियन्त्रणमा लिई खोलेर जाँच गर्दा दुबै पोका भित्र लागूऔषध गाँजा रहेको पुष्टि भएको हो। बरामद गाँजालाई प्रहरी चौकीमा ल्याई डिजिटल तराजुमा तौल गर्दा कुल १७ किलो २ सय ग्राम रहेको प्रहरी स्रोतले जनाएको छ।

फरार व्यक्तिको पहिचान खुल्न नसकेको भए पनि स्थानीय सूचनाको आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थल रंगपुरटाँडी प्रहरी चौकीबाट करिब ६ किलोमिटर पश्चिमतर्फ पर्ने दुर्गम क्षेत्र हो, जसले गर्दा तस्करहरू त्यस्ता स्थानलाई प्रयोग गर्ने सम्भावना उच्च देखिएको प्रहरीले जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रहरूमा लागूऔषध तस्करीको सक्रियता र गस्तीको आवश्यकतालाई फेरि एकपटक सतर्क बनाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्ति वा समूहलाई पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारीमा रहेको प्रहरी बताउँछ।

प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ र यसमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय छ।