पर्सा, असार ३ –पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित रजतजयन्ती चोकबाट लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०८२ साल असार ३ गते दिउँसो करिब १:३० बजे, जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकजाँच टोलीले रुटिन अनुगमनको क्रममा दुईवटा मोटरसाइकल रोकेर चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको हो।

ना.४६ प २५४०ना.४० प ६४६९ नम्बरका मोटरसाइकलमा सवार व्यक्तिहरूले शंकास्पद रूपमा बोरा बीचमा हातले समाइराखेको देखिएपछि टोलीले खानतलासी गर्दा प्लास्टिकको झोलाभित्र खरानी रंगको टेपले बेरिएको अवस्थामा लुकाइछिपाई राखिएको करिब १ के.जी. लागुऔषध (अफिम जस्तो देखिने पदार्थ) फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार रहेको छः
१. बिनोद गिरी, वर्ष ४०, वडा नं. १, पटेर्वा सुगौली गाउँपालिका, पर्सा
२. प्रदिप चौधरी, वर्ष ३३, वडा नं. ५, पटेर्वा सुगौली गाउँपालिका, पर्सा
३. सुनिल कुमार श्रीवास्तव, वर्ष २८, स्थायी ठेगाना खुलाइएको छैन
४. रामेश्वर राउत, वर्ष ३४, वडा नं. ५, पटेर्वा सुगौली गाउँपालिका, पर्सा

बरामद लागुऔषध र प्रयोग गरिएको दुवै मोटरसाइकल नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यस प्रकारको सक्रिय चेकजाँचबाट लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूको नेटवर्क भत्काउने प्रयासलाई थप गति दिएको प्रहरीको भनाइ छ।