पंचगावाँ ।। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका आजभोलि विकासको उदाहरणीय नमूना बन्दै गएको छ। गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको नेतृत्वमा पछिल्लो केही वर्षयता विकासको तीव्र र दिगो लहर चलिरहेको छ, जसप्रति स्थानीयवासीहरू उत्साहित मात्र छैनन्, गर्व पनि महसुस गरिरहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा सखुवा प्रसौनी गाउँपालिकामा भएका भौतिक पूर्वाधार निर्माणले गाउँको स्वरूप नै परिवर्तन गरिदिएको छ। देउवबाना (कर्बोला) देखि पंचगावाँ बजारसम्म, औराहाँ–पंचगावाँसम्म तथा सखुवा प्रसौनीदेखि पंचगावाँसम्मका कालोपत्रे सडक सम्पन्न हुदै छन्, भने श्रीपुर गाउँको भण्डारीपुलदेखि रंगपुरसम्मको सडक निर्माण अध्यक्ष यादवको पहलकदमीमा तीव्र गतिमा अगाडि बढिरहेको छ।

यिनै योजनाका साथ गाउँपालिकाका अधिकांश टोल, बस्ती र गलीमा सडक ढलान, नाला निर्माण जस्ता पूर्वाधार विकासका कामहरू सम्पन्न भइसकेका छन् वा अन्तिम चरणमा रहेका छन्। गाउँमा वर्षौंदेखिको हिलो, धुलो र पानी जम्ने समस्या हट्दै जाँदा सर्वसाधारणले साँच्चिकै परिवर्तनको अनुभूति गर्न थालेका छन्।

अध्यक्ष जसवन्त यादव भन्छन्, “मैले पाएको पाँच वर्षे कार्यकालभित्र सखुवा प्रसौनी गाउँपालिकाको हरेक टोल र गलीमा पूर्वाधार पुर्याउने प्रतिवद्धता लिएको छु। आउँदो चुनावअघि नै कुनै पनि बस्ती विकासबाट वञ्चित रहने छैन।”

समाजसेवी चन्दन सहनीका अनुसार सखुवा प्रसौनी अहिले पर्सा जिल्लाको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको गाउँपालिका बनेको छ। उनले भने, “जब हामी अन्य पालिकामा जान्छौं र सखुवा प्रसौनीसँग तुलना गर्छौं, सबैले अध्यक्ष यादवको नेतृत्व र लगनशीलतालाई खुलेर प्रशंसा गर्छन्। गाउँका बृद्धबृद्धाहरू समेत उहाँको अझ ठूलो भूमिका होस् भनेर आशीर्वाद दिन्छन्।”

स्थानीयबासी सुनिल प्रसाद यादव भन्छन्, “पहिले यहाँको सडक अवस्था यति कमजोर थियो कि एम्बुलेन्स जान मुस्किल पथ्र्यो, अहिले भने हामीले साँच्चिकै विकास महसुस गरेका छौं।” सडक निर्माणसँगै दुबैतर्फ नाला निर्माण भइरहेकाले वर्षायाममा पानी जम्ने समस्या पनि अन्त्य भएको देखिन्छ ।

योजनाहरू केवल सडकमा सीमित छैनन्। गाउँपालिकाले आगामी वर्षहरूमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै सर्वाङ्गिण विकासको रणनीति तय गरिसकेको छ। अध्यक्ष यादवको दीर्घदृष्टि र कामप्रतिको प्रतिबद्धता हेर्दा सखुवा प्रसौनीको भविष्य उज्यालो देखिन्छ।

आज सखुवा प्रसौनीमा भौतिक मात्र होइन, मानसिक र सामाजिक परिवर्तन पनि देखिँदैछ। अन्य पालिकाका जनप्रतिनिधिहरू र जनताले यहाँको विकासलाई उदाहरणको रूपमा हेर्दै “हाम्रो पालिकामा पनि यस्तो अध्यक्ष पाए त!” भन्ने गरेका छन्।

विकासका यी कथा अब सखुवा प्रसौनीको मात्र नभई पर्सा जिल्लाको गौरव बन्न थालेका छन्। जसवन्त यादव नेतृत्वमा सखुवा प्रसौनी अब गाउँ न रहेर, सहर जस्तै चम्किएको छ।