पर्सा, असार ५ – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रंगपुरका एक साना व्यवसायी परिवारलाई जीवन बिमा बापतको रु. ६ लाख ५२ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ।

विजया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मनवाबाट आयोजित एक कार्यक्रममार्फत उक्त रकम हस्तान्तरण गरिएको हो। जीवन बीमा गराएकी अरावति देवी थारुको केही समयअघि निधन भएपछि उनका श्रीमान् इन्द्रासन राउत थारुलाई उक्त रकम उपलब्ध गराइएको हो।

वडा अध्यक्ष विजय गैरेको सक्रिय पहल र समन्वयमा बीमा कागजात प्रक्रिया छिटो टुंग्याइँ, र परिवारलाई आर्थिक राहत स्वरूप बीमा बापतको रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष गैरेले मृतक परिवारलाई सहानुभूति प्रकट गर्दै बीमाको महत्त्वबारे जानकारी गराएका थिए। “थोरै रकमको किस्ताबाट ठूलो सहयोग पाइन्छ भन्ने आज प्रमाणित भएको छ,” उनले भने।

अरावति देवी थारुले केही समय अघि मात्रै बीमा गरेकी थिइन्। दुर्भाग्यवश उनको अकालमा निधन भयो, तर समयमै गरिएको बीमाले आज परिवारलाई संकटको बेला ठूलो सहारा दिएको छ।

कार्यक्रममा लघुवित्त संस्था, वडा कार्यालय र स्थानीयबासीको उपस्थिति रहेको थियो। संस्थाका प्रतिनिधिहरूले पनि बीमा योजनाको जानकारी गराउँदै भविष्यमा अझ धेरै सदस्यलाई लाभ दिलाउने प्रतिबद्धता जनाए।

बीमा रकम विवरण:

बीमा तथा काजक्रिया खर्च बापत: रु. ६,५२,५००

लाभग्राही: इन्द्रासन राउत थारु

मृतक: अरावति देवी थारु

स्थान: पटेर्वा सुगौली २, रंगपुर

यो कार्यले बीमाको पहुँच गाउँगाउँसम्म पुर्‍याउनुको आवश्यकता र महत्वलाई अझ प्रष्ट बनाएको छ।