प्रमोद यादव, बिरगंज / ६ असार: पर्सागढि नगरपालिका, पर्साले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरसभाको १३ औं अधिवेशन शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा नगर प्रमुख गोकर्ण पाठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो “समृद्ध पर्सागढि निर्माणको यात्रामा हामीले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमलाई अगाडि सारेका छौं। हाम्रो प्रयास शिक्षित, स्वस्थ, आत्मनिर्भर र प्रगतिशील पर्सागढि बनाउनेतर्फ केन्द्रित छ।”

यसै कार्यक्रममार्फत नगर उपप्रमुख पुजा चौधरीले करीब ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो। बजेट स्रोतहरूको विवरण यस प्रकार छ:
🔹 संघीय सरकारको वित्तीय समानीकरण अनुदान — रु. ११ करोड ७६ लाख
🔹 संघीय सशर्त अनुदान — रु. २६ करोड ९० लाख
🔹 राजस्व बाँडफाँड — रु. १० करोड ६१ लाख १ हजार ८९९
🔹 प्रदेश वित्तीय समानीकरण अनुदान — रु. ८२ लाख ६ हजार
🔹 प्रदेश सशर्त अनुदान — रु. ९५ लाख
🔹 प्रदेश राजस्व बाँडफाँड — रु. ८० लाख ८४ हजार ५८०
🔹 विशेष अनुदान — रु. ३० लाख
🔹 समपुरण अनुदान — रु. २० लाख
🔹 आन्तरिक आय — रु. २ करोड ७१ लाख १० हजार
🔹 अनुमानित मौज्दात — रु. १ करोड

नगर प्रमुख पाठकले आफ्नो भनाइमा योजना कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गरिने बताए। उहाँले भने:
“हामीले ल्याएका योजनाहरू कागजमा मात्र सीमित नरहून्, व्यवहारमा कार्यान्वयन होस् भन्नेमा हाम्रो विशेष ध्यान रहनेछ।”

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारीहरूबीचको सहकार्यले पर्सागढि समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो:
“जबसम्म म यस पदमा छु, पर्सागढिलाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्दिनँ। हाम्रो एकताको बलले धेरै सम्भव छ।”

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका १ देखि ९ नम्बर वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, सञ्चारकर्मीहरूको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारीहरू र उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मान समेत प्रदान गरिएको थियो।