जिराभवानी — पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ मा श्रीमतीको घाँटी थिची हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मृतक २१ वर्षीया लालबीबी खातुनको हत्या आरोपमा उनका श्रीमान् २२ वर्षीय सफिराजा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, घटना शनिबार राति मृतकको आफ्नै सुत्ने कोठामा भएको थियो। सन्दिग्ध मृत्युको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो।

घटनास्थलको प्रारम्भिक जाँच, लाशको मुचुल्का तयार पार्ने लगायत कार्यहरू सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

अनुसन्धानको क्रममा लामो समयदेखि श्रीमान्–श्रीमतीबीचको मनमुटाव, संवादहीनता, पारिवारिक कलह र आपसी द्वेष हत्या हुनुको मुख्य कारण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। बाहिर काम गर्न गएका सफिराजालाई श्रीमतीले वास्ता नगरेको भन्दै मनमा रिस पलाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

डिएसपी लम्सालका अनुसार, घटनापछि सफिराजालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणहरूको आधारमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।