पंचगावाँ, ९ असार — पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ४१ लाख १७ हजार ११ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार जगरनाथपुर–४ सन्ठीस्थित विद्यालय प्रांगणमा आयोजित १३औं गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आगामी वर्षको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन्।

बजेटअनुसार संघीय समानीकरण अनुदानबाट १० करोड ५६ लाख, सशर्त अनुदानबाट १८ करोड ३ लाख, विशेष अनुदानबाट २ करोड ८९ लाख र संघीय राजस्व बाँडफाँडबाट ८ करोड ८२ लाख २८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा २ करोड ८३ लाख ४१ हजार, र गाउँपालिकाको आन्तरिक स्रोत तथा मौज्दातबाट २ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

खर्च पक्षमा कृषि क्षेत्रमा ७५ लाख, शिक्षा क्षेत्रमा १ करोड ६३ लाख ४७ हजार, पशु सेवा १० लाख ५० हजार, स्वास्थ्य क्षेत्रमा १ करोड ६० लाख ५८ हजार, सामाजिक विकासतर्फ १ करोड, गाउँपालिकाको प्रशासनिक तथा चालु खर्चका लागि १० करोड ५८ लाख र वडा कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रमका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्सा–४ का सांसद एवं पूर्व उद्योगमन्त्री रमेश रिजालले जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्यजस्ता सेवामा कमी न ल्याउन आग्रह गर्दै जनसेवामा राजनीति नगर्न चेतावनी दिएका थिए।

गाउँसभा अधिवेशन अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।