पर्सा, असार १० ,:  सखुवा प्रसौनी गाउँपालिकाको १५औं गाउँसभा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।

जसमा कूल शसर्त अनुदान २३ करोड २९ लाख ,समपुरक अनुदान ५१ लाख,विशेष अनुदान ७५ लाख ,आन्तरिक श्रोतबाट४४ लाख ८५ हजार,वित्तीय समानीकरण अनुदान ११ करोड ४५ लाख ६२ हजार,राजस्व बाँडफाँडतर्फ १० करोड ८६ लाख ११ हजार ३०३ रुपैयाँ रहेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा उपाध्यक्ष शर्मिला बिस्ट महतोले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जानकारी दिइन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुसवाहाले स्वागत मन्तव्य दिँदै सहभागी सबैप्रति आभार व्यक्त गरे। कार्यक्रमका सहभागीमा ६ वटै वडाका अध्यक्ष, वडा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, शिक्षक लगायत उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिने बताउँदै, विद्यालयहरूको अनुगमन, प्राविधिक शिक्षामा जोड, स्वास्थ्य बीमा प्रोत्साहन, तथा आधारभूत अस्पतालको व्यवस्थापन जस्ता योजनाहरू आगामी वर्ष लागू गरिने जानकारी दिए।

त्यस्तै, कृषि सिंचाइका लागि ट्रान्सफार्मर र पोलको व्यवस्था, कृषि उपजको बजार विस्तार, कोल्ड स्टोर स्थापनासहित आधुनिक कृषि बजार विकास, एक घर एक रुख, पशु बीमा, अर्गानिक खेती प्रवर्द्धन, तथा कालोपत्रे सडक विस्तार जस्ता कार्यक्रमहरू पनि प्राथमिकतामा पर्ने बताइएको छ।

गाउँसभा सर्वसम्मत रूपमा सम्पन्न भएको जानकारी दिइएको छ। कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोद यादवले गरेका थिए।