पंचागावाँ — पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको १३औं नगरसभा अधिवेशन सोमबार सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरिएको हो।

नगरपालिका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख सुस्मा कुमारी कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

सभामा आगामी आर्थिक वर्षका लागि ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेट सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सेवाप्रवाहलाई प्राथमिकता दिई तयार पारिएको बताइएको छ।

अध्यक्ष सिंगासन साह तेलीले नीति तथा कार्यक्रम तयार पार्ने क्रममा सल्लाह र सुझाव दिएका सबै सरोकारवालाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि कार्यान्वयनका लागि सबैको निरन्तर साथ र सहयोग अपेक्षा व्यक्त गरे।

नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने र सुझावका आधारमा अन्तिम निर्णय लिइने नगरपालिकाले जनाएको छ।