हरिकिशोर शर्मा ।। जिराभवानि असार ११ पर्सा।। ठोरी गाउँपालिका–३, ओडारमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज ‘कर्ण गणित प्रयोगशाला’ स्थापना गरिएको छ । २०५७ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरूको समूहले आफ्ना सहपाठी दिवंगत कर्ण श्रेष्ठको स्मृतिमा उक्त प्रयोगशाला स्थापना गरेका हुन् ।

गणित प्रयोगशालाको उद्घाटन ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रलाई आफूले सधैं प्राथमिकतामा राखेको उल्लेख गर्दै गणित प्रयोगशालालाई थप समृद्ध र प्रभावकारी बनाउन गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विद्यालयका पूर्व विद्यार्थीहरूले यस्तो सिर्जनात्मक प्रयासमार्फत नौलो अभ्यासको थालनी गरेको भन्दै प्रशंसा व्यक्त गरे । शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधि सबैले हातेमालो गर्नुपर्ने धारणा उनले राखे ।

दिवंगत कर्ण श्रेष्ठका सहपाठी तथा विद्यालयका पूर्व वि.व्य.स. अध्यक्ष बालकुमार बस्नेतले कर्ण श्रेष्ठको स्मृतिमा चाँडै छात्रवृत्ति कार्यक्रम सुरु गर्ने योजना रहेको जानकारी गराए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका निवर्तमान उप–प्रमुख ठाकुर न्यौपाने, साविक निर्मलबस्ती गाविसका उपाध्यक्ष गोविन्द प्रताप श्रेष्ठलगायत वक्ताहरूले छोटो उमेरमै दिवंगत कर्ण श्रेष्ठले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै सहभागीहरूलाई भावविह्वल बनाएका थिए ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, वडा नं. ३ का वडाध्यक्ष शम्भु खड्का, निवर्तमान वडाध्यक्ष सूर्य लामा, कार्यपालिका सदस्य ज्ञानकुमारी जोशी, दीपकनगर माविका अध्यक्ष जगेन्द्र पौडेल, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, विद्यालयका पूर्व प्रधानाध्यापक कामोध्या चौधरी, वडा सदस्यहरू, वि.व्य.स.का पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, दिवंगत कर्ण श्रेष्ठका परिवारजन तथा सहपाठीहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपाल जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सह–प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले गरेका थिए ।

यसै अवसरमा विद्यालयले शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरेको थियो । शैक्षिक सत्रभरि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका शिक्षक रोहित घिमिरेले पुरस्कार प्रदान गरिएको जानकारी दिए ।