काठमाडौँ, ११ असार — नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। सन् २०१६ मा नेपाल प्रहरीमा प्रवेश गरेका ऐरीले गत बैशाखमा राजीनामा बुझाएका हुन्।

नेपाल प्रहरीको क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले २०८२ सालको बैशाख २८ गते राजीनामा दिएका थिए। ऐरीको राजीनामा प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन्। उनले भने, “उहाँले राजीनामा दिनुभएको हो। राजीनामा स्वीकृत समेत भइसकेको छ।”

यस विषयमा ऐरीले भने हाल केही नबोल्ने बताएका छन्। सिधाकुरासँगको सम्पर्कमा उनले भने, “अहिले यसबारे नबोलौँ, कुनै समय भनौँला नि।”

ऐरीले राजीनामा पत्रमा घरायसी कारण देखाए पनि उनी विदेश जाने तयारीमा रहेको अनुमान गरिएको छ।

२०८० असोजमा प्रहरी सहायक हवल्दारमा बढुवा भएका ऐरीले चीनमा भएको एसियन खेलमा मङ्गोलियाविरुद्ध ऐतिहासिक अर्धशतक प्रहार गरेपछि पदोन्नति पाएका थिए।

न्युज साभार: सीधाकुरा