असार १२ पर्सा ,: पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये ३ वटा पालिकाले कानुनी समयसीमा भित्र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन्।

असार १० गतेभित्रै सबै पालिकाले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान रहेपनि छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र धोबिनी गाउँपालिकाले कानुनको उल्लंघन गर्दै अझै बजेट सार्वजनिक गरेका छैनन्।

यी पालिकामा प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीचको आपसी विवादका कारण समयमै बजेट ल्याउन नसकेको स्थानीय स्रोतले जनाएको छ।

यसैबीच, पर्साका अन्य ११ पालिकाले भने निर्धारित म्यादमै बजेट सार्वजनिक गरिसकेका छन्। वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका र कालीकामाई, पकहामैनपुर, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जिराभवानी, जगरनाथपुर र ठोरी गाउँपालिकाले असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट पास गरिसकेका छन्।

मधेस प्रदेशभरका १३६ स्थानीय तहमध्ये ३३ पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्।

प्रदेशका अन्य जिल्लामा पनि समयमै बजेट नल्याउने पालिकाको संख्या उल्लेख्य रहेको छ। सप्तरीका १३, धनुषाका ६, बाराका ३, रौतहटका ५, सिरहा, महोत्तरी र सर्लाहीका केही पालिकाले निर्धारित समयसीमा उल्लंघन गरेका छन्।

पटक–पटक जानकारी गराइए पनि प्रमुख–उपप्रमुखबीचको खटपट, प्रशासनिक लापरबाही तथा राजनीतिक असहमतिको कारण यस्ता समस्या दोहोरिइरहेको स्थानीय governance विश्लेषकहरू बताउँछन्।