वीरगञ्ज १३ असार ,; मधेस प्रदेशको एक प्रमुख धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा स्थापित श्री गहवामाई रथ यात्रा आज शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित धार्मिक समन्वय समितिले मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा तेस्रो पटक रथ यात्रा आयोजना गरेको हो।

समितिका अनुसार, यस वर्षको रथ यात्रामा एक लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको छ। बिहान ८ बजे विशेष पूजापाठपछि सुरु भएको यात्रा गहवामाई मन्दिरबाट सुरु भई घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगञ्जका विभिन्न स्थान—बिर्ता, आदर्शनगर, महावीरस्थान—बाट पुनः मन्दिरमै फर्केर सम्पन्न भएको थियो।

पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, काठमाडौंदेखि सीमावर्ती भारतीय सहर रक्सौल, मोतिहारी, बेतिया, रामगढवा, अरेराजसम्मबाट भक्तजनहरू सहभागी भएका थिए। समितिका अध्यक्ष श्यामकुमार पोखरेलले यस रथ यात्रा अब परम्परा मात्र नभई भव्य धार्मिक पर्वका रूपमा स्थापित भएको बताए।

शहरका बासिन्दाले रथ यात्रामा सहभागी श्रद्धालुहरूको स्वागत गर्दै रथमाथि पुष्पवर्षा गरेका थिए। पानी, जुस लगायतको निःशुल्क सेवा व्यवस्थापन गरिएको थियो। सहभागीहरूले भगवा र रातो पोशाकमा ‘गहवामाईको जय’ भन्दै यात्रालाई धार्मिक रंग दिएका थिए।

यस अवसरमा वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो। नगरप्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले वीरगञ्जको पहिचान अझ प्रस्ट बनाएको भन्दै आगामी वर्षदेखि विशेष बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए।

यात्रा अवधिभर पर्सा प्रशासन, प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले सयौँ सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था मजबुत बनाएका थिए।

समितिका सचिव पप्पु गुप्ताका अनुसार, यो रथ यात्रा मधेस प्रदेशकै पहिलो धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा हो। छपन्न भोग, भजन-कीर्तन, महाप्रसाद तथा भन्डारा कार्यक्रम पनि आयोजना गरिएको छ। आज बेलुका ७ बजे छपन्न भोग प्रसाद वितरण तथा भोलि बिहान ६ बजेबाट महाप्रसाद वितरण हुनेछ। साँझ ४ बजे भव्य भन्डारा कार्यक्रमको आयोजना गरिनेछ, जसमा पुनः लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।

अध्यक्ष पोखरेलले महोत्सवको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको जानकारी दिए। रथ यात्रा अझ प्रभावकारी बनाउन रक्तदान तथा स्वास्थ्य शिविरजस्ता सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ। समितिले सम्पूर्ण खर्चको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

धार्मिक पर्यटन प्रवर्द्धन, सनातन संस्कृति संरक्षण तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यो रथ यात्रा अब वीरगञ्जको गौरवपूर्ण पर्वको रूपमा स्थापित भएको विश्वास आयोजक समितिको छ।  न्युज साभारः यात्रा डेली