बारा, असार १४ अनिल गुप्ता , – बारा प्रहरीले ठूलो परिणाममा लागुऔषध गाजा बरामद गर्दै ४ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू गाजालाई धानको भुसको बोरा भित्र लुकाई छिपाई अवैध रूपमा बोकेर ल्याइरहेका थिए।

प्रहरीले दिएको जानकारी अनुसार, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा हेटौंडाबाट बाराको परवानीपुर गाउँपालिका–५ स्थित बहुअरीबाट कलैया–गण्डकतर्फ गइरहेको प्रदेश ३–०१–२४ च ४६३० नम्बरको सेतो रङको पिकअप गाडी जाँच गर्दा उक्त गाजा बरामद गरिएको हो।

पिकअप गाडीमा रहेको धानको भुसका बोराभित्र लुकाइएको अवस्थामा २१२ किलो ९२८ ग्राम गाजा फेला परेको प्रहरीले जानकारी दिएको छ। गाजासहित पक्राउ परेका व्यक्तिहरूमा निम्न छन्:

  • रबि कार्की – मकवानपुर, थाहा नगरपालिका–४, पालुङ (उमेर करिब २८ वर्ष)
  • वीर बहादुर गोले – मकवानपुर, थाहा नगरपालिका–१२, टिस्टुङ (उमेर करिब ४६ वर्ष)
  • साजन मुक्तान – मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१४, उत्तरपानी (उमेर करिब २३ वर्ष)
  • महेश तमाङ – धादिङ, थाक्रे गाउँपालिका–७, आपसीचोक (उमेर करिब ३१ वर्ष)

बरामद गाजा र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीले लागुऔषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै गइरहेको बताएको छ।