जिराभवानी ।।  पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ४, आठघरका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोधमा कडा कदम चालेका छन् । उक्त क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन भइरहेको भन्दै स्थानीय महिलाहरूले यस्ता गतिविधिमा संलग्न पुरुषहरूलाई पिटेर खेदाएका छन् ।

यस अघि ईलाका प्रहरी कार्यालय ठोरीलाई यो विषयमा सयौंको सङ्ख्यामा उपस्थित महिलाहरुले उजुरी दिदा पनि कुनै ठोस कारबाही नभएको गुनासो महिलाहरूको छ । फलस्वरूप, उनीहरूले आफैं संगठित भएर यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेको बताएका छन् ।

स्थानीय महिलाहरूका अनुसार, ठोरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका होटलहरूमा यौन व्यवसाय खुलेआम चलिरहेको छ । यो गतिविधिले समुदायमा नकारात्मक प्रभाव परिरहेको र विशेषगरी युवा पुस्ता तथा महिलाहरूको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाइ छ ।

“हाम्रो गाउँमा यस्तो गलत कामले हाम्रा छोरीचेली र समुदायको इज्जतमा धक्का पुगेको छ,” एक स्थानीय महिला समूहकी सदस्यले भनिन्। “हामीले यस्ता गतिविधि रोक्न आफैं अघि सर्नुपर्‍यो ।”

यस घटनाले ठोरी क्षेत्रमा यौन व्यवसायको समस्यालाई पुनः चर्चामा ल्याएको छ । स्थानीय प्रशासनले यो विषयमा तत्काल अनुसन्धान गरी आवश्यक कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।