प्रमोद यादव १६ असार, पर्सा,: जगन्नाथपुर गाउँपालिकाको आर्थिक सहयोगमा मधेस खबर मल्टिमिडिया प्रा.लि. वीरगञ्जको आयोजनामा पालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जगन्नाथपुर गाउँपालिका–३ स्थित आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित गरिएको थियो।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी सीमा सुरक्षा बल १३ नम्बर गुल्मका उपरीक्षक राधेश्याम धिताल, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा अध्यक्षहरू सुभाष प्रसाद यादव, लक्ष्मी शाह लगायत विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सर्वसाधारण गरी करिब २०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले व्यक्त गरे भने सञ्चालन तथा सहजीकरण मधेस खबर प्रा.लि.का अध्यक्ष क्रान्ति शाहले गर्नुभयो।

कार्यक्रममा बोल्दै स्थानीय रामायण यादवले सीमावर्ती भारतको इनरुवा र भङ्गाहाबाट दैनिक उपभोग्य वस्तु ल्याउँदा सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने गरिएको गुनासो गरे।

महिला सहभागीतामा कलावतीदेवीले महिलाहरूका लागि गढैयामा सिलाई-कटाई तालिमको माग गरिन्।

सिँचाइ, ट्रान्सफर जडान र विद्युत लाइन नचलेको विषयमा मोहम्मद शनि अन्सारी र सुरेन्द्र पाण्डेले आवाज उठाए भने महिला भवन निर्माणको माग कुस्मी देवीले गरिन्।

प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले चालु आर्थिक वर्ष २०८१/८२ का योजनाको प्रगति विवरण सार्वजनिक गर्नुभयो।

प्रहरी उपरीक्षक मिश्रले प्रहरी ऐन विपरीत कार्य गर्ने ३९ जना प्रहरी कर्मचारीमाथि कारबाही भइसकेको जानकारी दिँदै, प्रमाणसहित उजुरी आएमा थप कडा कारबाही हुने स्पष्ट पार्नुभयो।

सशस्त्र प्रहरी उपरीक्षक धितालले कानुनविपरीत सामान ल्याउँदा मात्र नियन्त्रणमा लिइने र कानुनअनुसार कारबाही हुने बताए।

कार्यक्रममा आयोजक संस्थातर्फबाट सुस्मिता कुमारी चौधरी र ताजमुनि खातुनले सहभागी अतिथिहरूलाई खादा र गम्छा ओढाई सम्मान गरेका थिए।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले नागरिकका गुनासोप्रति गम्भीर हुँदै, “आजैदेखि सुधारको सुरुवात गरिनेछ र जिल्लामा उदाहरणीय पालिकाका रूपमा चिनिने गरी कार्य गरिनेछ,” भनी प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम दिउँसो १ बजे सुरु भई ४ बजे सम्पन्न भएको थियो।