पर्सा, २४ असार : वीरगञ्ज महानगरका विभिन्न वडामा पानीको चरम अभाव भएपछि सखुवा प्रसौनी गाउँपालिकाले मानवीय सेवाका लागि आफ्नो दमकल (बारुण यन्त्र) प्रयोग गरी निःशुल्क पानी वितरण सुरु गरेको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार, मंगलबारदेखि वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौँ क्षेत्रमा बारुण यन्त्रको ट्याङ्कीमार्फत पानी आपूर्ति थालिएको हो। पहिलो दिन ६ हजार लिटर पानी एक ट्याङ्करबाट वितरण गरिएको जानकारी दिँदै उनले भने, “पानीको अभावमा थोरै राहत होस् भनेर हामीले बारुण यन्त्र सञ्चालनमा ल्याएका हौं।”

💧 मानवता प्राथमिक, भूगोल दोस्रो: अध्यक्ष यादव

यादवले पानी संकटका बेला साधन स्रोतको अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता रहेको बताए। उनले भूगोलको सीमा भन्दा मानवताको भावना ठूलो हुने भन्दै संकट टार्न जहाँ सम्भव हुन्छ त्यहीँबाट सहयोग गर्नु मानव धर्म भएको बताए। “जबसम्म अभाव छ, हामी बारुण यन्त्रमार्फत वीरगञ्जमा पानी पुर्‍याइरहनेछौं,” उनले भने।

डीप बोरिङको प्रयोग, दमकलमार्फत आपूर्ति

सखुवा प्रसौनी गाउँपालिकामा रहेको डीप बोरिङबाट पानी भरेर गाउँपालिकाको दमकल प्रयोग गरी वीरगञ्जमा ल्याइएको हो। बुधवारदेखि रानीघाट क्षेत्रमा पनि पानी वितरण हुने अध्यक्ष यादवले जानकारी दिएका छन्। अन्य वडाहरूमा पनि क्रमशः आपूर्ति विस्तार गरिँदैछ।

महानगरपालिकाले पनि सुरु गर्‍यो वितरण

यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरणको काम सुरु गरेको छ। लामो समयदेखि चापाकल सुक्न थालेपछि स्थानीयवासी प्यासले पीडित बन्दै आएका छन्।

स्थानीयहरूले सखुवा प्रसौनी गाउँपालिकाको यो कदमलाई “समयमै लिएको प्रभावकारी र सहानुभूतिपूर्ण निर्णय” भन्दै स्वागत गरेका छन्।