हरिकिशोर शर्मा // जिराभवानि // असार २६ पर्सा // पर्सा जिल्लाको पश्चिमी सिमानामा पर्ने ठोरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापा, लेखा अधिकृत बुद्धि सागर मरहठ्ठा र शिक्षा संयोजक भुपाल कुमार जोशीको मिलोमतोमा व्यापक भ्रष्टाचार भइरहेको जनगुनासोहरु प्राप्त भएको छ।
तत्कालीन जिल्ला विकास समिती पर्सामा सामाजिक फाँट प्रमुख रहेर “सामाजिक डाँकु” को नामले चर्चा कमाएका अधिकृत थापाले ठोरीमा निमित्त भएर रजगज गरिरहेका स्रोतले जनाएको छ।

थापाले ठोरीको विभिन्न वडामा सामाजिक विकास कार्यक्रम अन्तर्गत लक्षित वर्गको कार्यक्रममा ३० देखि ५० प्रतिशत सम्म कमिसन लिइ काम गराई रहेको आरोप लागेको छ।

ठोरीका कैयौं कार्यक्रममा कर्मचारीले नै पेश्की लिई नामको मात्र कार्यक्रम गरि नक्कली बिलहरु पेश गर्दै भुक्तानी लिने गरेको स्रोतको भनाई रहेको छ।

नक्कली बिलहरु तयार पार्नेमा शिक्षा संयोजक भुपाल कुमार जोशी र वित्तीय साक्षारता सहजकर्ता हेम कृष्ण चापागाईं अग्रपंक्तिमा रहेको ती स्रोतले जनाएको छ। त्यसैगरी जिन्सीको सामानहरु नमगाई बिल मात्र पेश गरि अधिकृत थापा र लेखाका मरहठ्ठाले लाखौं लाखको भुक्तानी गरेको र अषाढ मसान्त चलिरहँदा सो क्रम अझै पनि जारी रहेको बताईन्छ।

निवर्तमान गाउँपालिका प्रमुख पिएल श्रेष्ठको पालामा पनि अधिकृत थापाले निमित्त अधिकृत बनेर भभ्रष्टाचारको मामिलामा गन्हाईसक्दा उनलाई सो जिम्मेवारीबाट मुक्त गरि सहायकमा राखिएको थियो।
फेरि उहीँ थापाले वर्तमानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिझाउदै निमित्त अधिकृतको जिम्मेवारी पाई लुटतन्त्र मच्चाई रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरि कारवाही प्रक्रिया अगाडि नबढाउदा ठोरीका सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।