पर्सा २७ असार, । मधेश प्रदेश सरकारले पहिलोपटक वार्षिक बजेटमा समेटिएको वर्षाजल संकलन (रेनवाटर हार्भेस्टिङ) र जल पुनर्भरण (वाटर रिचार्ज) परियोजना वीरगञ्जबाट सुरु गरिएको छ। यो ऐतिहासिक पहल प्रदेशसभा सदस्य रहबर अन्सारीको सक्रिय प्रयासमा वीरगञ्ज महानगरपालिका–१४ मा पाइलट मोडेलका रूपमा सुरु गरिएको हो।

खाली सार्वजनिक जग्गाको पहिचान गर्दै अन्सारीले १५ लाख रुपैयाँको बजेटसहित परियोजना सञ्चालनमा ल्याएका हुन्। परियोजनाले वर्षाको पानी संकलन गर्ने प्रणाली, भूजल पुनर्भरण खाल्डो निर्माण, र वातावरणीय जनचेतनामूलक कार्यक्रमहरू समेटेको छ। वातावरणविद् र योजनाविद्हरूले यो परियोजनालाई दीर्घकालीन जलस्रोत व्यवस्थापनको सशक्त सुरुवातको रूपमा लिएका छन्।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद अन्सारीले आधुनिक प्रविधिलाई परम्परागत सीपसँग जोडेर पर्यावरण संरक्षणको मिसन अघि बढाएका छन्। उनले वीरगञ्जको घट्दो भूजल स्तरलाई दीर्घकालीन रूपमा सुधार गर्ने लक्ष्यसहित परियोजना अघि सारेका हुन्।

सांसद अन्सारी भन्छन्, “यो केवल बजेटको पंक्ति होइन, यो कर्ममा आधारित वातावरणीय संकल्प हो। पानी र हरियालीको सहअस्तित्व बिना वातावरणीय संकट समाधान असम्भव छ।” वृक्षारोपण अभियानअन्तर्गत छप्कैयास्थित सार्वजनिक जग्गा र विद्यालय वरिपरि रोपिएका सयौं बिरुवा अहिले हुर्कँदै गएका छन्।

उक्त परियोजना सफल भएमा मधेश प्रदेशका अन्य वडाहरूमा समेत विस्तार गरिने योजना रहेको छ।