पंचगावाँ ।। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल श्री श्री १०८ श्री दुधेश्वरनाथ महादेव मन्दिर, रामभौडी भाठा धाममा यस वर्ष पनि साउन महिनाभरि भव्य धार्मिक मेला आयोजना हुने भएको छ।

यस सन्दर्भमा हालै सम्पन्न पत्रकार सम्मेलनमा मेला प्रचारप्रसार समिति, पर्साले मेला व्यवस्थापन, प्रचारप्रसार र दीर्घकालीन विकासका पक्षमा योजनाबद्ध ढंगले कार्य गरिने जानकारी दिएको छ। सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यटकीय र प्राविधिक पक्षमा गम्भीर छलफल हुँदै सुझावहरू लिइएका थिए।

यसपटकको मेलाको विशेष आकर्षणको रूपमा ‘हाथी सफारी’ प्रस्तुत गरिएको छ, जसमा दुई हाँस्तीमार्फत जङ्गल सफारीको आनन्द लिन सकिनेछ। सफारीका माध्यमबाट पर्यटकले पर्सा राष्ट्रिय निकुञ्जको हराभरा वनक्षेत्र, प्राकृतिक नदी–तलाउ, चौतारा, सेल्फी स्टलसँगै सारस, हरिण, भालु, जंगली हात्तीजस्ता दुर्लभ वन्यजन्तुहरू नजिकैबाट अवलोकन गर्न पाउनेछन्। यस क्षेत्रको शान्त वातावरण र हरियालीले मेला आउँने भक्तजन तथा पर्यटकलाई स्वाभाविक रूपमा तान्ने अपेक्षा गरिएको छ।

दुधेश्वरनाथ महादेव मन्दिर केवल धार्मिक स्थल मात्रै नभई ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि पर्सा जिल्लाको गौरवमय चिनारी बनेको छ। मेला सल्लाहकार सदस्य भागवत चौधरीका अनुसार, यो मन्दिर करिब १०० वर्ष पुरानो सम्पदा हो, जसले पर्साको धार्मिक धरोहरको पहिचान बोकेको छ। तर, मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको विकास अझै उपेक्षित भएकोमा गुनासो गर्दै पर्सा जिल्लामा पाँच जना मन्त्री हुँदाहुँदै पनि यस्तो महत्वपूर्ण स्थल अझैसम्म ओझेलमा रहेको दुर्भाग्य रहेको बताएका छन्।

यही अवसरमा नेपाल पत्रकार महासंघका सदस्य प्रमोद यादवले चितवनको सौराहा र मनकामनाजस्तै शक्तिशाली पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेमा वर्षभर पर्यटक भित्र्याउन सकिने दाबी गरे।

पत्रकार सम्मेलनमा स्थानीय तहका प्रमुख व्यक्तित्वहरूले आ–आफ्ना मन्तव्य राख्दै मेला व्यवस्थापन र मन्दिरको विकासप्रति प्रतिबद्धता जनाए। गाउँपालिकाका अध्यक्ष दिनेन्द्र चौधरीले स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग दिइएको बताए भने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले धार्मिक स्थल व्यवस्थापनमा पारदर्शिता र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे। पालिकाले प्रत्येक वर्ष मन्दिरका लागि बजेट विनियोजन गर्दै आइरहेको र समग्र व्यवस्थापनमा सकारात्मक हस्तक्षेप भइरहेको स्पष्ट पारे।

मेला प्रचारप्रसार समितिका अध्यक्ष शम्भु महतोले मेला सफल बनाउन स्थानीय सञ्चारकर्मी, स्वयंसेवक र जनसमुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। वडा अध्यक्ष फारमिया अन्सारीले मन्दिरलाई शानको रूपमा लिँदै यसको विकासलाई सामूहिक कर्तव्य ठहर गरे। स्थानीय बुद्धिजीवी राजेन्द्र साहले धार्मिक र प्राकृतिक सम्पदाको यस्तो दुर्लभ संयोजन नेपालमै कम रहेको उल्लेख गर्दै राज्यको ध्यानाकर्षण गराए।

व्यवस्थापन पक्षमा भने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। मेला समितिले नेपाल टेलिकमको सहयोगमा दुईवटा यसकाभेटरमार्फत सञ्चार सेवा विस्तारको तयारी गरेको छ भने दातृ संस्थाहरूको सहकार्यमा खानेपानी, शौचालय, जर्नेटरबाट विद्युत आपूर्ति, पाटी–पौवा निर्माण तथा बाटो मर्मतका कामहरू सम्पन्न गरिँदैछन्। हरेक वर्ष मेला व्यवस्थापनमा १०–१५ लाख रुपैयाँसम्म खर्च हुँदै आएको समितिको भनाइ छ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यो धामलाई सरकारले राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेमा यहाँबाट आम्दानी, रोजगारी र पर्यटन प्रवर्द्धन तीनै तहमा आशातित परिवर्तन ल्याउन सकिने स्पष्ट देखिन्छ। रामभौडी भाठा धाम आजको मितिमा स्थानीय प्रयासले टिकेको पवित्र स्थल हो, तर अब यसलाई दीर्घकालीन योजना, बजेटीय प्रबन्ध र राज्यको प्राथमिकतामा राख्दै स्थायीत्व र समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता छ।