काठमाडौं, असार ३१, : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। भूमि आयोग र मालपोत सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन्।

राजीनामाको जानकारी गुप्ताले आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद रहेका गुप्ता भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति र कास्की मालपोत कार्यालय प्रमुखको सरुवा रोक्नका लागि घुसको लेनदेनमा संलग्न भएको आरोपमा मुछिएका हुन्।

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र एमाले गण्डकी प्रदेशका नेता सुजन लामासँगको भनिएको अडियो सार्वजनिक भएपछि गुप्ताको भूमिकामाथि थप प्रश्न उठेको छ। अडियोमा मन्त्री गुप्ताको सरकारी निवासमै भेटघाट गरी रकमको ‘डिलिङ’ भएको स्पष्ट सुनिन्छ।

यसै प्रकरणमा गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई झोला नगदसहितको नोट नम्बर र फोटो प्रमाणसहित उजुरी पनि दर्ता भएको छ। अडियोमा आएको आवाज आफूले बोलेको स्वीकृति गुप्ताले केही मिडियासँग गरेका भए पनि अन्य केही माध्यमहरूमा भने त्यसलाई अस्वीकार गरेका थिए।

घुस रकम लिएर गएकी व्यक्ति भूमि आयोग नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समेत अडियोमा आफैं उपस्थित भई कुरा भएको पुष्टि गरिसकेकी छन्। यसले घटनाको गम्भीरता थप उजागर गराएको छ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्ताको बचाउ गर्ने प्रयास गरे पनि पार्टीभित्रैको असन्तुष्टि र सार्वजनिक दबाबका कारण अन्ततः गुप्तालाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ।

यो घटनाले ओली नेतृत्वको सरकारमा सुशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ भने सत्तारूढ दलभित्रको आन्तरिक संरचनामा समेत हलचल ल्याएको देखिन्छ।