पंचगावाँ ।। महिलाहरूको सुरक्षा र गरिमालाई मध्यनजर गर्दै आज भाथा धाममा पवित्र स्नानपश्चात सुरक्षित रूपमा कपडा बदल्न सकिने व्यवस्था गरिएको छ। त्रिपालको सहयोगमा बनाइएको अस्थायी संरचना महिलाहरूलाई निजीता र सुरक्षित वातावरणमा कपडा परिवर्तन गर्न मद्दत पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो।

यस पहलका लागि मेला अध्यक्षलाई चार थान पाल र २० केजी कालो प्लास्टिक सामग्री हस्तान्तरण गरिएको छ। यस सामग्रीले सुरक्षित परिवर्तन स्थल निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त कार्य विन्दवासिनी गाउँपालिकाका प्रमुख, बहुदरमाई नगरपालिकाकी उपप्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगर सभापति चन्दन यादवसहित अन्य युवाहरूको सक्रिय पहलमा सम्पन्न भएको हो।

आयोजकहरूले यो कार्यलाई सानो प्रयासको रूपमा लिएको भए पनि आगामी दिनमा यसलाई थप व्यवस्थित र दीर्घकालीन बनाउने दिशामा सम्बन्धित निकाय, जनप्रतिनिधि, स्थानीय तह, प्रदेश तथा संघ सरकारले आवश्यक कदम चाल्ने आशा व्यक्त गरेका छन्।

यो प्रयास महिलाहरूको अधिकार, सुरक्षा र सहजताको सुनिश्चितताका लागि गरिएको सकारात्मक सुरुवात हो, जसले आगामी दिनमा धार्मिक स्थलहरूमा महिला–मैत्री पूर्वाधार विकासतर्फ प्रेरणा दिनेछ।