पर्सा, ०४ साउन — पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित राष्ट्रिय वनको जग्गामा वन कार्यालयले शनिबार नापजोख गरी गाडेको किलाखुटा आइतबार जनप्रतिनिधिहरूले उखेलेर फालेका छन्। उक्त कार्य भूमिहीन दलित समुदायको लामो समयदेखिको खेतीयोग्य जमिनमाथिको अधिकार रक्षा गर्न गरिएको जनाइएको छ।

करिब ५ बिघा क्षेत्रफलमा फैलिएको उक्त जग्गा स्थानीय उराँव जातिका दलित समुदायले पुस्तौँदेखि खनजोत गर्दै आएका थिए। तर वन कार्यालयले स्थानीयसँग कुनै समन्वय नगरी एकतर्फी रूपमा नापजोख गरी सीमाङ्कन गर्न थालेपछि स्थानीयमा असन्तोष चुलिएको हो।

गाउँपालिका अध्यक्ष यशवन्त यादव, वडा अध्यक्ष वासुदेव महत्तो थारु, पूर्व गाविस अध्यक्ष लालदेव उरावलगायतको उपस्थितिमा आइतबार बिहान उक्त किलाखुटा उखेलिएको हो। अध्यक्ष यादवले भने, “त्यहाँ झण्डै दुई अढाई सय दलित परिवार पुस्तौँदेखि बसोबास र खेती गर्दै आएका छन्। उनीहरूसँग वैकल्पिक व्यवस्था नभएको अवस्थामा वन कार्यालयले जबर्जस्ती गरेको कार्य अमानवीय र जनविरोधी हो।”

उनले थपे, “हामीले दुई हप्ता अघि नै वन कार्यालयलाई भूमिहीनका लागि उचित व्यवस्थापन नहुञ्जेल कुनै पनि कार्य नगर्न भनेका थियौँ। तर हामीलाई बेवास्ता गर्दै शनिबार अचानक आएर सीमाङ्कन गरे। त्यसपछि हामी प्रतिकार गर्न बाध्य भयौँ।”

स्थानीय महिला सहंशा उरावले दुःख व्यक्त गर्दै भनिन्, “हाम्रो पुर्खाले जोतेको जमिनमा अब उठिबास लाग्ने भय भयो। हामीसँग अन्यत्र जाने ठाउँ छैन।”

पूर्व गाविस अध्यक्ष लालदेव उरावले पनि वन कार्यालयको कार्यलाई “जनविरोधी” भन्दै कडा आलोचना गरे। उनले भने, “पहिला सुकुम्बासीको समस्या समाधान गरियोस्, अनि मात्र वनको दाबी गरियोस्।”

आइतबार किलाखुटा उखाल्ने कार्यमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य बाबुराम उरावसहित अन्य स्थानीय नेता तथा सर्वसाधारण सहभागी थिए।

स्थानीयवासीले राज्यसँग आग्रह गरेका छन् कि उनीहरूको दीर्घकालीन बसोबास र जीविकोपार्जन गरिरहेको जमिनको उचित व्यवस्थापन नगरी वन अतिक्रमणको नाममा जबर्जस्ती नगरियोस्।