पर्सा, ५ साउन :- पर्साको पटेर्वा सुगौली गाउँपालिकाले मातृत्व स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘उपाध्यक्ष सुत्केरी कोसेली वितरण कार्यक्रम’ अन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्न सुरु गरेको छ।

गाउँपालिकाले गत वर्षको सफलताको निरन्तरता दिँदै यस वर्ष पनि कोसेली वितरण कार्यक्रम विस्तार गरेको हो। कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई दुई महिनासम्म पुग्ने गरी घ्यू, मसूरको दाल, चना र बोडीको गेडा समावेश गरिएको कोसेली प्याकेट प्रदान गरिन्छ।

गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तोका अनुसार, आइतबारदेखि सुरु भएको कार्यक्रममा वडा नं. ४ स्थित आधारभूत अस्पतालमा ५१ जना सुत्केरी महिलालाई कोसेली वितरण गरिएको हो। उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष दिनेश प्रसाद चौधरी र उपाध्यक्ष महत्तोले संयुक्त रूपमा गरेका थिए।

स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले वडा नं. २ गादी र वडा नं. ५ निचुटास्थित बर्थिङ सेन्टरहरूमा पनि यही कार्यक्रम संचालन गरिने जानकारी दिए।

उपाध्यक्ष महत्तोले बताइन्, “यस वर्ष कुल ४ सय सुत्केरी महिलालाई यो कार्यक्रममार्फत पोषणयुक्त सामग्री वितरण गर्ने हाम्रो लक्ष्य छ।” उनका अनुसार, गत वर्ष ३३० महिलाले उक्त कोसेली प्राप्त गरेका थिए।

कार्यक्रमको उद्देश्य बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउन महिलाहरूलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ।

गाउँपालिकाले वितरण गर्ने कोसेलीमा समावेश सामग्री:

घ्यू – ०.५ केजी

मसूरको दाल – २ केजी

चना – १ केजी

बोडीको गेडा – १ केजी

गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा मातृत्व स्वास्थ्यप्रति सचेतना बढाउने र पोषणमा सुधार ल्याउने अपेक्षा गरिएको छ।