पर्सा, साउन ५,:- पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ मा रहेको प्रसिद्ध दुग्धेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको अवसरमा लाग्ने ऐतिहासिक भाथा मेलाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गरिएको छ।

गाउँपालिकाले मेलामा सहभागी हुने हजारौं श्रद्धालुहरूका सुविधालाई ध्यानमा राख्दै खानेपानी तथा शौचालयको व्यवस्था मिलाएको छ। गाउँपालिका अध्यक्ष दिनेश चौधरीका अनुसार मेलाको अवधिभरका लागि पुरुष र महिलाका लागि छुट्टाछुट्टै गरी १०/१० वटा अस्थायी शौचालय निर्माण गरिएको छ।

यसबाहेक, मेलामा आउने भक्तजनलाई पिउने पानी सहज रूपमा उपलब्ध गराउन गाउँपालिकाले कुल ४० वटा अस्थायी धाराहरु जडान गरेको छ। ती धारामा आपूर्ति गरिने पानी नेपाली सेनाको नजिकै रहेको पोस्टले वर्षौंदेखि प्रयोग गर्दै आएको स्वच्छ मुहानबाट ल्याइएको हो। सो पानीलाई ट्याङ्कीमा भण्डारण गरी विभिन्न स्थानमा वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

साथै, भक्तजनहरूको सहज आवागमन सुनिश्चित गर्न गाउँपालिकाले भाथाधामतर्फ जाने कच्ची सडकको मर्मतसम्भार कार्यलाई तीव्र बनाएको छ। विगत १० दिनदेखि जेसीबी प्रयोग गरी सडक सुधारको काम भइरहेको छ।

आजबाट सञ्चालनमा ल्याइएको अस्थायी शौचालयप्रति महिलाहरू विशेष रूपमा खुसी देखिएका छन्। उपाध्यक्ष ममता महत्त्वले पहिले महिला श्रद्धालुहरूलाई निकै कठिनाइ हुने गरेको बताउँदै अबको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेकी छिन्। “शौचालय सञ्चालनमा आएपछि धेरै सहज महसुस भएको छ,” उनले भनिन्।

स्थानीय तहको यो सक्रियता धार्मिक पर्यटक र भक्तजनहरूका लागि अत्यन्त सराहनीय देखिएको छ। मेला व्यवस्थापनमा थप सहजता ल्याउँदै मेलाको सांस्कृतिक र धार्मिक महत्वलाई अझ बलियो बनाउन गाउँपालिकाले गरेको यो पहल उदाहरणीय भएको स्थानीयवासी र श्रद्धालुहरूले बताएका छन्।