वीरगंज ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट लाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले असार महिनाको ‘बेस्ट ट्राफिक प्रहरी अफ द मन्थ’ (महिनाको उत्कृष्ट ट्राफिक प्रहरी) को रुपमा सम्मान गरेको छ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालद्वारा हस्ताक्षरित निर्णय अनुसार, निरीक्षक भट्टले इमानदारिता, कर्तव्यनिष्ठता, अनुशासन र लगनशीलताको उच्च नमुना प्रस्तुत गर्दै वीरगञ्ज ट्राफिक कार्यालयमा उल्लेखनीय कार्य गरेको छ।हालै सम्पन्न आर्थिक वर्षमा मधेस प्रदेशका आठवटै जिल्ला ट्राफिक कार्यालयमध्ये वीरगञ्ज ट्राफिक कार्यालयले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ, जसमा निरीक्षक भट्टको नेतृत्वदायी भूमिका रहेको छ।

साथै, कार्यसम्पादन सम्झौताअन्तर्गत लक्ष्य प्राप्तिमा सफलता हासिल गर्नुका साथै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा पनि सक्रिय भूमिका खेलेको भन्दै उनको कार्यको उच्च मूल्याङ्कन गरिएको छ।

नेपाल प्रहरीले उनको उत्कृष्ट कार्यको प्रशंसा स्वरूप नगद १,३०० रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको जनाएको छयो सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा पनि प्रेरणा मिल्ने र कार्यक्षमतामा सुधार आउने अपेक्षा गरिएको छ। प्रहरी निरीक्षक लोकराज भट्टको समर्पण र नेतृत्वले वीरगञ्ज ट्राफिक सेवाको गुणस्तर अभिवृद्धि गरेको छ।