पंचगावाँ ।। खानेपानीमन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफूबाट भागिरहेको र सम्पर्कमा आउन नचाहेको आरोप लगाएका छन्।

धरानको खानेपानी समस्या समाधानका लागि आफू बजेट लिएर तयार भए पनि मेयर साम्पाङले भेट्न नचाहेको भन्दै उनले सञ्चारकर्मीहरूमार्फत मेयरलाई खोजिदिन आग्रह गरे।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले मेयर साम्पाङको कानुनी कदम र असहयोगका कारण धरानले पाउने ६ अर्ब रुपैयाँको खानेपानी परियोजना रोकिएको सुनाए।

‘उहाँलाई स्टन्टबाज गर्नु छ, हामीलाई पानी दिनु छ,’ मन्त्री यादवले भने, ‘त्यो रित्तो गाग्रोमा पानी हालेर धरान त पुग्दैन। त्यसका लागि बजेट चाहिन्छ। अहिले बजेट लिएर म उहाँलाई खोजिरहेको छु, तर उहाँ हराउनु भएको छ।’

मन्त्री यादवले आफूले मेयर साम्पाङलाई सम्पर्क गर्न पटक-पटक प्रयास गरेको तर सफल नभएको दाबी गरे। ‘एक महिनासम्म फोन उठाउनु भएन, म्यासेजको जवाफ दिनुभएन। म खोज्दै खोज्दै धरान गएँ, त्यहाँ पनि पालिकामा भेटिनुभएन,’ उनले भने।

आफू बजेट दिन तयार भए पनि मेयर नै सम्पर्कबाहिर रहेको भन्दै उनले सञ्चारकर्मीहरूलाई मेयर साम्पाङ खोजिदिन आग्रह गरे।

‘कहाँ हुनुहुन्छ मेयरसा’ब ? तपाईंहरू खोजिदिनुस्। म बजेट दिन तयार छु,’ उनले भने, ‘धरानवासीलाई मेरो सूचना दिनुस्, मेयरसा’बलाई खोजेर मेरो बजेट लिनका लागि स्वीकार गराइदिनुस्।’