भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २००८ मा भएको भयावह मुंबई आतङ्कवादी हमलाका मास्टरमाइन्ड मानिने तहव्वुर राणाविरुद्ध दिल्लीको पटियाला हाउस अदालतमा अतिरिक्त अभियोगपत्र (supplementary chargesheet) दर्ता गरेको छ।

एनआईएले राणामाथि भारतविरुद्ध युद्ध छेड्ने, आतंकवादी गतिविधिमा संलग्न हुने र २६/११ को मुम्बई हमलामा प्रत्यक्ष सहयोग गर्ने जस्ता गम्भीर आरोप लगाएको छ।

पाकिस्तानी मूलका क्यानाडाली नागरिक ६४ वर्षीय तहव्वुर राणा यस वर्ष १० अप्रिलमा अमेरिकाबाट भारत ल्याइएका थिए । त्यसपछि एनआईएले जनवरी ११ मा अदालत समक्ष उपस्थित गराउँदै २६ दिनको रिमाण्ड मागेको थियो।

एनआईएले राणाविरुद्ध गैरकानुनी गतिविधि निवारण ऐन (ग्ब्एब्) अन्तर्गत धारा १६ (आतंकवादी कार्य), १८ (षड्यन्त्र), २० (आतंकी संगठनको सदस्यता) तथा भारतीय दण्ड संहिता (UAPA) अन्तर्गत धारा १२०बी (षड्यन्त्र), १२१ (राष्ट्रविरुद्ध युद्ध), १२१ए, ३०२ (हत्या), ४६८ र ४७१ (कागजात किर्ते) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

 

एनआईएका अनुसार राणा पाकिस्तानको सेनामा चिकित्सकसमेत रहेका थिए। उनले अमेरिकामा बस्दै ‘इमिग्रेशन कन्सल्टेंसी फर्म’ सञ्चालन गरेका थिए, जुन आतंकवादी गतिविधिका लागि ‘कभर’को रूपमा प्रयोग भएको थियो। यिनै कागजात र स्रोतको उपयोग गरेर डेविड कोलम्यान हेडली (उर्फ दाउद गिलानी) ले भारतमा आतंकी हमलाका लागि स्थानहरूको रेकी (जासुसी) गरेको थियो।

२६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला भारतको इतिहासकै सबैभन्दा भयावह आतंकवादी हमला मानिन्छ। यसमा १६६ जना मारिए, जसमा भारतीय नागरिकसँगै अमेरिकी, बेलायती र इजरायली नागरिकहरू पनि थिए। हमला ताज महल होटल, ओबेराय ट्राइडेन्ट, लिओपोल्ड क्याफे, छत्रपति शिवाजी टर्मिनस स्टेशन, र चबाड हाउसमा भएको थियो।

एनआईएका अनुसार राणाले डेविड हेडलीलाई भारत यात्रा, वित्तीय सहायता, कागजी सुविधा र कर्पोरेट सेटअप उपलब्ध गराएर सीधा सहयोग गरेका थिए। राणा मुम्बई हमलाको ५ दिनअघि भारतमै थिए र उनले आफ्नी पत्नी समराज राणासँग मिलेर भारतका विभिन्न शहरको भ्रमणसमेत गरेका थिए।

राणाविरुद्धको मुद्दा दिल्लीको पटियाला हाउस अदालतमा चलिरहेको छ। अदालतले अब आगामी सुनुवाइमा एनआईएका प्रमाण र थप अनुसन्धानको मूल्याङ्कन गर्नेछ।

भारतले उनलाई अमेरिका र पाकिस्तानसँग सम्बन्धित अन्तर्राष्ट्रिय आतंकी नेटवर्कसँगको सम्बन्धका आधारमा सजायको माग गर्दै अदालतमा मुद्दा अघि बढाइरहेको छ।