सप्तरी— सप्तरीको रुपनी गाउँपालिका–२ स्थित पौवाँ टोलमा विद्युतीय करेन्ट लागेर एक दम्पत्तीको ज्यान गएको छ।

शुक्रबार राति आफ्नै घरअगाडि ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४२ वर्षीय बालेश्वर खंग (कैला) र उनकी ३८ वर्षीया श्रीमती रामकुमारी खंगको मृत्यु भएको हो।

बालेश्वर दिनभरको सवारीपछिको थकान मेट्न घर फर्किएपछि रिक्सालाई कठघराबाट निकालिएको विद्युतीय तारमार्फत चार्ज गर्न गएका थिए। लामो समयसम्म नफर्किएपछि खोज्न गएकी श्रीमती रामकुमारी पनि करेन्टको चपेटामा परेकी थिइन्।

घटनाबारे राति नै भए पनि बिहान करिब ४ बजे मात्र जानकारी भएको थियो। जेठो छोरा सुरजले बाबुलाई रिक्सामुनि ढलेको अवस्थामा देखेपछि छरछिमेकीलाई खबर गरेका थिए।

छिमेकी प्रमिला खंगका अनुसार, मृतकलाई करेन्टबाट छुटाउन खोज्दा आफू पनि घाइते भएकी थिइन्। जेठो छोरा सुरजले लाइन काटेपछि मात्र शव निकालिएको थियो।

घटनापछि गाउँमा शोकको वातावरण छाएको छ। सामाजिक अभियन्ता राजु जैसवालले मृतक परिवारको अवस्था अत्यन्तै पीडादायक रहेको जनाउनुभयो। “बालेश्वरले केही महिनाअघि मात्र ई–रिक्सा किनेका थिए। सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो। अब ती छोराछोरीको अवस्थाबारे सोच्नै गाह्रो छ,” उहाँले भन्नुभयो।

१९ वर्षीय जेठो छोरा सुरजको हालै मात्र विवाह भएको थियो भने ७ वर्षीय कान्छो छोरा जन्मजात वाक अक्षम छन्। कमजोर आर्थिक अवस्था र एकैचोटि बाबुआमा गुमाउँदाको पीडाले परिवारलाई थप संकटमा पारेको छ।

दुवै मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।